आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १०

बौद्ध चौतारी २०६

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १०

यसो भन्दै आचार्य अब अलि गंभिर विषयमा प्रवेश गर्नु हुन्छ:

१) आफू भन्दा तलका लागि करुणा र माया मनमा सदा राख्नु पर्दछ र उनिहरुको मन दुखाउने वा अपमान गर्ने गर्नु हुन्न।

२) आफ्ना साथीहरु प्रती आशक्त हुने वा आफ्ना शत्रुहरुलाई द्वेष गर्ने गर्न हुन्न।

व्याख्या: आचार्यले यहाँ महायान बौद्ध धर्मको आधारभुत अभ्यासलाई अगाडि सार्नु भएको छ।

करुणानै महायानको सबैभन्दा महत्वपुर्ण अभ्यास हो। विना करुणा न महायानमा प्रवेश गर्न सकिन्छ, न यसको मार्गमा अगाडि बढेर संयकसंबुद्ध बन्न सकिन्छ।

करुणालाई माहायानमा

भवन्तु सततं मुक्ता दुखाश्च दु:खकारणात् भनेर व्यक्त गरिन्छ अर्थात सबै सत्त्वहरु दु:ख र दु:खको कारणहरुबाट मुक्त होउन्। यो ब्रह्मविहार वा अप्रमाण पनि हो। भनिन्छ कि एक तहका ब्रह्मलोकका ब्रह्माहरुको मनको अवस्था यस्तै हुन्छ।

अनि फेरि यो नै महायानको सार हुनुका साथै बोधिचित्त उत्पात गर्नका लागि पनि हेतुको रुपमा काम गर्दछ। बोधिचित्त भनेको अरु प्राणिको हितको लागि महायानमा प्रवेश गरेर ६ पारमिताहरुको अभ्यासले बुद्ध हुन्छु भन्ने संकल्प हो।

आफू भन्दा माथिका लागि त हामी सजिलै सम्मान आदि दिन्छौ तर आफू भन्दा कमजोर, निम्न आय भएका, समाजमा तल्लो तप्कामा भएकालाई भने हेप्ने वा नजरअन्दाज गर्ने, नगन्ने चलन प्राय मानव समाजमा हुन्छ। यसो नगर्न र उनिहरुलाई आफ्नो करुणाले समेट्दै उनिहरुलाई सधैं माया गर्दै, आदरपुर्वक उनिहरु प्रती सहानुभूति मनमा राख्दै सुरक्षित, प्रफुल्ल र सम्मानित महसुस गराउन आचार्य उपदेश दिनुहुन्छ। यदि यी दुखी प्राणिलाई खुसी बनाउन सकिएन भने ब्रह्माण्डकै प्राणिहरुको हितको लागि बुद्ध बन्दछु भन्नु हाँस्यास्पद मात्र हुन्छ।

यसरी प्रारम्भमानै उहाँले करुणामा जोड दिनु भएको छ तर त्यो करुणा राख्न तबमात्र संभव छ जब हाम्रो मन उपेक्षाको भावमा रहन्छ।

उपेक्षा भनेको राग वा द्वेष दुबैबाट टाढा रहन सक्नु हो। यदि कसैप्रती मन आशक्त भयो वा कसैप्रती मन द्वेषको भावनाले भरियो भने साँचो रुपमा करुणा जाग्न सक्दैन।

त्यसैले आचार्यले दोस्रो बुँदामा “आफ्ना प्रती आशक्ती नराख्नु वा शत्रुहरु प्रती द्वेष नराख्नु” भनेर उपेक्षा भावमा तथस्थ मनलाई राख्न उपदेश दिनु भएको छ।

भवतु सर्वमंगलम्

Click the button for Donation