आचार्य अतिश दिपंकरको अति गंभिर उपदेश – भाग १४

बौद्ध चौतारी २५६

आचार्य अतिश दिपंकरको अति गंभिर उपदेश – भाग १४

आचार्य भन्नुहुन्छ:

१९) जब जीवनमा अनावश्यक र निरर्थक कृयाकलाप बढ्दछ, अध्यात्मिक अभ्यास बिग्रन्छ। सद्धर्मसंग बाझ्ने सबै कृयाकलापलाई बंद गर्नु पर्दछ।

२०) निरर्थक कृयाकलापमा सहभागी भएर आफ्नो शक्ति खर्च गर्नु व्यर्थ हो।

२१) हामीले भने जसरी जीवन चल्दैन। जीवन हाम्रा पुराना कर्म अनुसार अघि बढ्ने भएकोले हामी आराम गर्नसक्दछौं।

व्याख्या: अघिल्लो अंगमा जस्तै यहाँपनी आचार्य अतिश धर्म र अधर्म के हुन्, केलाई आवश्यक भन्ने र केलाई अनावश्यक कृयाकलाप भन्ने भन्ने कुरामा केन्द्रित हुनुहुन्छ। आवश्यक/अनावश्यक, कुशल/अकुशल भन्नेकुरा निर्वाण तिर, अविद्या र क्लेश घटाउने तिर लैजाने कि संसारमै राख्ने कार्य गर्दछ भन्ने कुरामा निर्भर गर्दछ।

छोटकरिमा भन्दा आयु, पुण्य घटाउने, अनि आत्मग्राह, क्लेश बढाउने कृयाकलापलाई अनावश्यक र निरर्थक मानिन्छ। यसमा खासगरी ८ वटा लौकिक कृयाकलापहरु पर्दछन् ।

यी अष्टलौकिक धर्म अर्थात ८ वटा लुकिक धर्महरुले मुख्यतः क्लेश बढाउँदछ, खासगरी आत्मग्राह, म र मेरोलाई मलजल गर्दछ जसले गर्दा हामी संसारमानै अड्कन पुग्दछौ र दु:खको कहिल्यै नसकिने भुमरिमा फस्दछौ।

कस्ता कृयाकलापलाई चैं आवश्यक र अर्थपूर्ण मानिन्छ? यी ८ लौकिक धर्महरु बाहेकका क्लेश र अविद्या घटाउने, पुण्य आदि बढौने कृयाकलापलाईनै सार्थक मानिन्छ। छोटकरिमा पुण्य र ज्ञान बढाउने कृयाकलापनै अर्थपुर्ण र आवश्यक कृयाकलापहरु हुन्। यिन्ले संसारमै रहँदा पनि सुख, शान्ती, ऐश्वर्य, धन आदि प्रदान गर्दछन् भने अन्त्यमा निर्वाणमा पुर्याउँंदछन्।

अन्तिम बुँंदापनी वास्तवमा माथिका कुरासंग पनि संबन्धित छ।

संसार हामीले भनेको जसरी चल्दैन किनकी हामीले विगतमा कि सार्थक, धर्मसंग मिल्ने कृयाकलाप गरेका हुन्छौं कि निरर्थक, अधर्मसंग संबन्धित।

यिनैलेनै आज कि सुख हुने कि दुख हुने, अदलाबदली भैरहने स्थिती पैदा हुन्छ। अर्थात पुराना कुशल वा अलुशल कर्महरु हाम्रो छाँयाले जस्तै हामीलाई पछ्याईरहेका हुन्छन्। यसैले गर्दा जीवन परिवर्तनशिल छ, चलायमान छ।

यसैलाई बुझेर कुशल, धर्मसंग नबाझ्ने कृयाकलाप र कर्महरु गर्दै गएमा हामीले धेरै चिन्ता गर्नु पर्दैन। यसैपनी अनित्य, परिवर्तनलाई मनले स्विकार गरेरनै हामीले शान्ती पाउन सक्दछौ।

भवतु सर्वमंगलम्

Click the button for Donation