अध्यक्षको सन्देश

थेक्छेन पेमा छोलिङ गुम्बा सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीमा अवस्थित महायान बौद्ध परम्परामा आधारित बौद्ध गुम्बा(मन्दिर) तथा बौद्ध अध्ययन केन्द्र हो। यस गुम्बामा हाल बिद्यार्थीहरु सहित जम्मा २५ जना लामाहरुले नगरबासीहरुको बिभिन्न धार्मिक कृयाकलापहरुमा सकृय सेवा पुर्याउनुको साथै अटुट सिद्ध र सुद्ध बौद्ध परम्परा अनुसारको बौद्ध शिक्षाको अधयापन पनि सन्चालनमा छ। सर्वसाधारणको लागि पनि नियमित बौद्ध कक्षाहरु सन्चालन हुने भएको अहिले सम्म ठुलै संख्यामा नगरबासीहरुले बौद्ध शिक्षा हासिल गरेका छन्।

सोलुदुधकुण्ड नगरबासीहरुको लागि बुद्ध जयन्ती आयोजना गर्ने, शेर्पा संस्कृति र धार्मिक मुल्य मान्यताको आधारमा बिभिन्न पाठपूजाहरु गर्नका लागि एक गुम्बाको तड्कारो आवश्यकता सबैलाई महसुस भइरहेको समयमा संस्थापक अध्यक्ष स्व. मास्टर छिरिङ दोर्जी शेर्पाज्यूको नेतृत्वमा संस्थापकहरुले, स्व. श्री छिरिङ तेन्जिङ लामाज्यूले गुम्बा निर्माणमा चाहिने जग्गा दान गर्नुहुने सल्लाह भएको र संस्थापकहरुले दाताहरुबाट उठाउन सक्ने दान जत्तिकै म्याचिड॰ फण्डको सहयोगको प्रतिबद्धता पनि न्युजिलेण्ड नागरिक सर एडमण्ड हिल्लरीज्यूबाट प्राप्त भए पछि घर-घरबाट संकलन गरिएको दान सहयोग र सोही अनुसारको म्याचिड॰ फन्डबाट प्राप्त रकमबाट यो गुम्बा निर्माण भएको थियो । गुम्बा निर्माणको क्रममा परम पुजनीय ठुल्सिक रिम्पोचे स्वयम् आउनुभई मूल भवनको जग स्थापना गर्नुभएको साथै मूल भवन निर्माण सम्पन्न भए पश्चात निर्माणस्थलमा नै ३ दिन लगातार बास बस्नुहुदै प्राण प्रतिष्ठान (रप्ने) गर्नुभई गुम्बालाई थेकछेन पेमा छोलिड॰ गुम्बा भनी नामाकरण समेत पनि गरिदिनुभएको थियो। यसरी बि.सं. २०५२मा स्थापित यस पवित्र गुम्बा निर्माण भई २०५८मा जिल्ला प्रशासनमा एक सामाजिक संस्थाको रुपमा समेत दर्ता भई संचालन भइरहेको छ र सल्लेरी मात्र नभई यस वरिपरिका बिभिन्न गाउॅहरुमा मर्दापर्दाको बेलामा लगातार धार्मिक सेवा प्रदान गर्दै आएको छ।

यसरी यस गुम्बा स्थापनाको बिगत २९ बर्षको अवधीमा एक बौद्ध गुम्बाको रुपमा मात्र नभई पर्यटक र स्थानीयहरुको लागि समेत एक अपरिहार्य आकर्षणको केन्द्रको रुपमा स्थापित भएको छ।

असंख्य पर्यटकको लागि सर्बोच्च शिखर सगरमाथा जानको लागि प्रवेशद्वार मानिने यस क्षेत्रमा आउने पर्यटकहरुको लागि सल्लेरी बजारमा उल्लेखनीय कुनै आकर्षणको गन्तब्य नभएको कुरालाई महसुस गर्दै बर्तमान कार्यसमितिले गुम्बाले गर्दै आएको कामहरुलाई निरन्तरता दिदै यस गुम्बालाई एउटा रमणीय पर्यटकीय तथा पवित्र धार्मिक गन्तब्यको रुपमा बिकास गर्ने मार्गचित्रको परिकल्पना गर्दै आफ्नो अवधारणा प्रस्तुत गरेको छ।

त्यस अनुसार आकर्षक गेटको निर्माणको काम शुरु भइसकेको छ भने माने पुनर्स्थापनाको काम सम्पन्न हुनै लागेको छ।समितिले संस्कृति र कलालाई प्रदर्शनी गर्न मिल्ने हलहरु, सभा हल, काजकृया गर्न मिल्ने ब्यबस्था, बिद्यार्थीहरुको लागि कक्षाकोठा र आवासीय सुविधाहरु, पुस्तकालय, कम्प्युटर ल्याब, सुबिनियरका पसलहरु र आधुनिक रेष्टुरेण्ट आदि भएको एक सामुदायिक भवन, पर्यटकहरु र सर्बसाधारणहरुको लागि सम्यक सम्बुद्ध भगवान गौतम बुद्धको जन्मथलोमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भ समेतको प्रतिरुप सहितको लुम्बिनी गार्डेन पनि निर्माण गर्ने योजना अघि सारेको छ । यी सबै निर्माण गर्न ठुलै बजेटको आवश्यकता पर्ने भएकोले सम्पूर्ण ब्यक्तीहरु, वडा, नगरबासीहरु, स्थानीय तथा सरकारी तथा गैर सरकारी संघ संस्थाहरु सबैमा यस गुम्बाको पवित्र अवधारणामा हातेमालो गर्नुभई नगर बिकासमा सामेल हुदै अपार पुण्य पनि संचय गर्नुहुन हार्दिक आव्हान गर्दछु ।

साथै सोलुखुम्बुको मुटुमा अवस्थित यस गुम्बाबाट संचालन हुने बिभिन्न धार्मिक तथा सामाजिक काम कृयाकलापमा सकृय रुपमा सहभागी बनी यस गुम्बालाई अझ परिस्कृत बनाउदै यस क्षेत्रलाई समेत एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा समेत बिकास गर्ने लक्ष्यमा एक साथ लागिदिनुहुन बिनम्र अनुरोध गर्दछु।

तेन्जी शेर्पा
अध्यक्ष, गुम्बा ब्यबस्थापन समिति
थेक्छेन पेमा छोलिङ गुम्बा, सल्लेरी

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्