अन्तर्राष्ट्रिय सागादावा म्याराथन : उपाधि नेपाल आर्मीका करणलाई

marathon
14मे
समाचार थेक्छेन पेमा छोलिङ गुम्बा

सोलुखुम्बु — प्रथम अन्तर्राष्ट्रिय सागादावा रनिङ फेस्टिभलको म्याराथनतर्फको उपाधि नेपाल आर्मीले हात पारेको छ । आइतबार सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सम्पन्न ४२ दशमलव २ किमि म्याराथनको महिला तथा पुरुष दुवैतर्फको उपाधि नेपाल आर्मीका धावकले हात पारेका हुन् ।

बुद्धजयन्तीको अवसरमा थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा जारी सागा दावा दौड महोत्सव तथा कला सम्मेलनको दौडतर्फको म्याराथनमा पुरुषतर्फको उपाधि आर्मीका करण रावलले ३ घण्टा १९ मिनेट ८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हासिल गरेका हुन् ।

यस्तै महिलातर्फको प्रथम उपाधि नेपाल आर्मीकै सुनसरी रोकायाले हात पारेकी छन् । पुरुषतर्फको द्वितीय र तृतीय स्थान क्रमशः कुलबहादुर बस्नेत र मिलन राईले हात पारेका छन् । यस्तै महिलातर्फको द्वितीय र तृतीय स्थान क्रमशः सोलुखुम्बुकी अनिता राई र ओखलढुङ्गाकी छोकी शेर्पाले जितेकी छन् । म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिलगर्ने महिला पुरुष दुवैतर्फका धावकहरूले पुरस्कार राशि क्रमशः ७५ हजार, ५० हजार र ३५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई गुम्बाका अध्यक्ष तेन्जी शेर्पा र सचिव ङिमातेण्डुप शेर्पाले पुरस्कार वितरण गरेका छन् ।

यस्तै हाफ म्याराथन २१ किलोमिटरतर्फको प्रथम द्वितीय र तृतीय स्थान महिलातर्फ र पासाङ ल्हामु तामाङ, शोर्णीमा शेर्पा र आङ फुर्वा शेर्पाले जितेका छन् । यस्तै पुरुषतर्फ मानकुमार रोक्का, गोपाल तामाङ र किरण थुलुङले जितेका छन् । हाफ म्यारथनतर्फका प्रथम, द्वितीया, तृतीय स्थान हासिल गर्ने उनीहरूले पुरस्कार राशि क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Marathon

यता ११ किमितर्फका धावकहरू शिव रायमाझी, टङ्कबहादुर कार्की र दिपेशहाङ राईले निर्धारित दूरी पार गर्दै प्रथम, द्वितीय र तृतीय हासिल गरेका छन् भने महिलातर्फको ११ कमी रायल राईले प्रथम स्थान हासिल गरेकी छन् । उनीहरूले पुरस्कार राशि क्रमशः २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

शनिबार सम्पन्न फन रन ५ किमि दौडको पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय स्थान क्रमश: पुकार बस्नेत, विकास तामाङ र मिङ्मा दोर्जीले हासिल गरे भने महिलातर्फ करिश्मा मगर, रोनिश्का कार्की र टीका भुजेलले हासिल गर्दै पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्राेतः कान्तिपुर

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्