सोलुखुम्बु : सोलुखुम्बुमा आयोजना गरिएको प्रथम सागादावा अन्तर्राष्ट्रिय रनिङ फेस्टिवल म्याराथनको उपाधी आर्मीका करण रावल र सुनसरी रोकायाले हात पारेका छन् । ४२ किलोमिटरको म्याराथन दौडमा पुरुषतर्फ आर्मीका रावल र महिलातर्फ रोकायाले हात पारेका हुन् ।
यस्तै पुरुषतर्फ दोस्रो र तेस्रो क्रमश कुल बहादुर बस्नेत र मिलन राई भएका छन् भने महिलातर्फ अनिता राई र छोकी शेर्पा क्रमश दोस्रो र तेस्रो भएका छन् । स्थान ओगट्न सफल महिला र पुरुष प्रतियोगीहरुलाई क्रमशः नगद रु ७५ हजार, ५० हजार र ३५ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस्तै हाफ म्याराथानमा पुरुषतर्फ मान कुमार रोक्का, गोपाल तामाङ र किरण थुलुङ तथा महिलातर्फ पासाङ ल्हामु तामाङ, स्वर्णीमा शेर्पा र आङ फुर्वा शेर्पाले प्रथम, दोस्रो र तेस्रो भएका छन् । उनीहरूलाई क्रमश ३५, २५ र १५ हजार रुपैयाँ प्रदान गरिएको आयोजक समितिका निमा तेन्डुप शेर्पाले बताए । यसैगरी ११ किलोमिटरको दौडमा शिव रायमाझी,टङ्क बहादुर कार्की र दिपेशहाङ राईले प्रथम, दोस्रो र तेस्रो हुँदा महिला तर्फको रायल राईले प्रथम स्थान हासिल गरेकी छन् । उनीहरूले पुरस्कार राशि क्रमशः २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै गरेर ५ किलोमिटरको दौडमा पुकार बस्नेत,विकास तामाङ र मिङ्मा दोर्जी तथा महिला तर्र्फ करिश्मा मगर,रोनिश्का कार्की र टिका भुजेलले प्रथम, दोस्रो र तेस्रो हुँदै क्रमश १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विश्व शान्तिको कामना,थेक्चेन पेमाको चाहाना भन्ने मुल नाराका साथमा कार्यक्रमको आयोजना गरिएको थेक्छेन पेमा छोलिङ गुम्बाका अध्यक्ष तेन्जि शेर्पाले बताए । यस्तै कार्यक्रममा हिमाली कला संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको उनले बताए ।
बैशाख २९ गते सोमबार बुद्ध जयन्तीको दिन उत्सव समारोह र हिमाली कला सम्मेलन हुने आयोजकले जनाएको छ । कार्यक्रम थेक्छेन पेमा छोलिङ गुम्बाको आयोजनामा सञ्चालन गरिएको हो ।
स्राेतः अन्नपूर्ण पाेष्ट