गुरु पद्मसम्भव एवम् वज्र गुरु मन्त्र र जपको लाभ

आचार्य सार्की शेर्पा


१। पृष्ठभूमि

गुरु पद्मसम्भव बौद्ध तन्त्र परम्पराका महान् संस्थापकका रूपमा चिनिनुहुन्छ । उहाँको जन्म ओडियानाको उत्तर पश्चिमी दिशामा रहेको धनकोश तालको टापुमा बहुरङ्गी कमलको फूलमा भएको थियो । उहाँलाई ओडियानाका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई ‘त्रिकाल बुद्ध’, ‘दोस्रो बुद्ध’ तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले ‘गुरु रिन्पोछे’ को नामले पुकार्ने गर्दछन् । करिब आठौँ शताब्दी तिर तिब्बतका राजा ठ्रि सोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवम् प्रचार प्रसार गर्न पाल्नु हुँदा, नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक प्रचार प्रसार गर्नुभएको थियो ।

तिब्बतमा उहाँले मन्त्रद्वारा भूत, प्रेत, राक्षस आदि शक्तिहरूलाई दमन गरी बौद्ध धर्मको रक्षा गर्न कबुल गराएर तिनीहरूलाई स्थानीय संरक्षक देवदेवीको रूपमा स्थापित गर्नुभएको थियो । तिब्बतमा विशेषतः बौद्ध तन्त्र साधनाको देशना गर्नुका साथै प्रसिद्ध साम्ये गोन्पा स्थापना गर्नुभई प्राण प्रतिष्ठा (रब्ने) समेत उहाँबाट नै सम्पन्न भएको मानिन्छ । गुरु पद्मसम्भवको आगमनपछि उत्तर एशियाको हिमाली क्षेत्रमा वज्रयान बौद्ध धर्मको व्यापक प्रचार प्रसार भएको थियो ।

२। नेपालमा गुरु पद्मसम्भव

गुरु पद्मसम्भवले नेपालको विभिन्न स्थानहरूमा ध्यान साधना गर्नुभएको उल्लेख उहाँको जीवनी पद्म काथाङ, विघ्न बाधा मार्ग विनाश प्रार्थना (सोल्देब पर्छेद लम्सेल) आदि ग्रन्थहरूमा पाइन्छ । पद्म काथाङमा उल्लेख भएअनुसार, उहाँले खोटाङको हलेसी मारातिका गुफामा अमितायुस बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसैगरी, दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको साथै दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रेको तिमाल (यारी नाग) आदि स्थानहरूमा ध्यान साधना गर्नुभएको तथ्यहरू पाइन्छ ।

किम्बदन्ती अनुसार, तिब्बतको साम्ये गोन्पाको स्थापना गर्नुअघि, मुस्ताङ जिल्लाको माथिल्लो भेगमा रहेको लो घेकर गोन्पा गुरु पद्मसम्भवको सहयोगमा निर्माण गरिएको जनविश्वास रहेको छ । त्यसैगरी सङ्खुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, रसुवाको लाङटाङ, मुस्ताङ आदि स्थानमा पनि गुरु पद्मसम्भव र उहाँका शिष्यहरूले ध्यान साधना गर्नुभएको उल्लेख उहाँको जीवनीमा पाइन्छ । साथै, उहाँले नेपालको हिमाली क्षेत्रका विभिन्न स्थानहरूमा भविष्यमा बौद्ध धर्मको रक्षा होस् भनी पहाडी गुफाहरूमा धेरै निधि (तेर) सञ्चय गरेर राख्नुभएको कुरा पनि पद्म काथाङमा उल्लेख गरिएको पाइन्छ । ती स्थानहरूलाई व्यायुल (गुप्त निधि क्षेत्र) भनिन्छ ।

गुरु पद्मसम्भवले यस जगत्मा आफ्नो काय प्रतिनिधिका रूपमा राख्नु भएका पाँचओटा मूर्ति (कुछप तेरङ)मध्ये नेपालमा दुइटा रहेका छन् । हाल उक्त पवित्र मूर्ति नेपालको प्राचीन गोन्पा सोलुदुधकुण्ड नगरपालिका वडा नं। २ जुनबेसीमा रहेको टासी थोङमोन गोन्पा र मुस्ताङ घरपझोङ गाउँपालिका–५, ढुम्बा, कुछाप तेरङ गोन्पामा रहेका छन् । नेपालमा रहेका गुरु पद्मसम्भवका पवित्र तीर्थस्थल र पवित्र मूर्तिको दर्शनका लागि विशेष गरी भुटान, भारतको लद्दाख, हिमाञ्चल प्रदेश, सिक्किम र तिब्बतको साथै देश विदेशबाट वार्षिक रूपमा हजारौँ धर्मावलम्बी, श्रद्धालु भक्तजन आउने गर्दछन् ।

३। गुरु छेन ग्याद् (गुरुका आठ प्रकारका नाम)

गुरु पद्मसम्भवले प्राणी हितार्थ अनेकौँ कार्य गर्नुभएको भए पनि विशेष आठ प्रकारका प्रमुख कार्यहरू गरिएको मानिन्छ । त्यसैको आधारमा उहाँका आठ स्वरूप रहेका छन्, जसलाई गुरु छेन ग्याद् भनिन्छ । ती यस प्रकार छन्स् १। गुरु छोके दोर्जे, २। गुरु शाक्य सिङ्गे, ३। गुरु लोदेन छोग सेद, ४। गुरु पद्मसम्भव, ५। गुरु पद्म ग्लापो, ६। गुरु ङिमा होद् सेर, ७। गुरु सेङ्गे डाडोग, ८। गुरु दोर्जे डोलोद, यी नामअनुसार उहाँका स्वरूपहरू पनि फरक फरक रहेका छन् । तिब्बत तथा हिमाली क्षेत्रका बौद्ध अनुयायीहरूले उहाँलाई निर्माण कायको रूपमा मान्दछन् । उहाँको जन्मतिथिको स्मरणमा प्रत्येक महिनाको दशमीमा ‘छेचु’ पूजा गर्ने परम्परा छ । ठुला गोन्पाहरूमा वर्षमा एकपटक गुरु छेन ग्याद् का आठ स्वरूपहरू अनुसार रूप धारण गरी नृत्य (छ्याम) प्रदर्शन गर्ने प्रचलन पनि रहेको छ ।

४। वज्र गुरु मन्त्रको संक्षिप्त अर्थ

गुरु पद्मसम्भवको मन्त्रमा ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ बाह्र अक्षरहरू रहेका छन् । जसको संक्षिप्त भावार्थ यस प्रकार रहेको छ – हे गुरु पद्मसम्भव १ मलाई तपाईँको काय, वाक् र चित्तसम्बन्धी सबै प्रकारका सिद्धिहरू प्रदान गरिदिनुहोस्।

‘‘ॐ आः हूँ’’ तीन अक्षरले काय, वाक्, र चित्त ‘‘वज्र गुरु पद्म’’ ले गुरु पद्मसम्भव ‘‘सिद्धि ’’ ले अभीष्ट वरदान सामान्य र विशिष्ट गुणहरू र ‘‘हूँ’’ ले मलाई पनि तपाई जस्तै गुणी र शक्ति शाली बनाउनु होस् भन्ने बुझिन्छ ।

‘ॐ आः हूँ’ मन्त्रले गुरु (लामा), इष्टदेव (यिद्म) र डाकिनी (खान्डो) ‘वज्र’ ले परि शुद्ध आदर्श ज्ञान, ‘पद्म’ ले फूल सदृश प्रत्यात्म वेद्य ज्ञान, ‘सिद्धि’ ले विभिन्न कर्म सिद्धि ज्ञान,

‘हूँ’ ले सबै प्रकारका मार्ग फल प्राप्त हुन्छ भन्ने बुझिन्छ । उक्त वज्र गुरु मन्त्र जप गर्दा सबै प्रकारका फल प्राप्त हुन्छ भन्ने विश्वास गरिएको छ ।

‘ॐ आः हूँ’ काय वाक र चितको उत्तम सार हो । ‘वज्र’ वज्र कुलको उत्तम सार हो । ‘गुरु’ रत्न कुलको उत्तम सार हो । ‘पद्म’ पद्म कुलको उत्तम सार हो । ‘सिद्धि’ कर्म कुलको उत्तम सार हो र ‘हूँ’ तथागत् बुद्ध कुलको उत्तम सार हो ।

यस प्रकार गुरु पद्मसम्भवको बाह्र अक्षर मन्त्रको कैयौँ यस्ता व्याख्या रहेका छन् । यो ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ मन्त्र भारत, नेपाल, भुटान देशका हिमाली क्षेत्रका साथै चीन जापान, मङ्गोलिया तथा पश्चिमी मूलका महायानी बौद्ध अनुयायीहरूले यस मन्त्रको जप गर्ने गर्दछन् ।

५। वज्रगुरु मन्त्र जपको लाभ

ध्यान साधना गरी मन्त्र जप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सबै प्रकारको पुण्य लाभ प्राप्त हुनेछ । त्यसैले ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ मन्त्र गुरु पद्मसम्भवका मन्त्रका सार भएकोले, यसको जपबाट प्राप्त हुने लाभ पद्म काथाङ मा वर्णित छ ।

जब गुरु पद्मसम्भव तिब्बतबाट फर्किन लाग्नुभयो, राजा ठ्रि सोङ देहु चेन, राजकुमार मुतिक चेन्पो तथा सम्पूर्ण राजपरिवार र जनता उहाँको बिदाइस्थलमा उपस्थित थिए । राजकुमारले उहाँका चरणमा ढोग गर्दै भने – “गुरु १ तपाईंको प्रस्थानले हामी सबै दुःखी छौं । तपाईं नै हाम्रो गुरु हो । शाक्यमुनि बुद्ध यहाँ पालिनुभएन, त्यसैले तपाईं नै हाम्रो भाग्यका गुरु हो । कृपया हामी दुःखी जनसमुदायलाई अन्तिम धर्मोपदेश दिनुहोस् ।”

उहाँको अनुरोधलाई स्वीकार गरी गुरु पद्मसम्भवले भन्नुभयो – “छ गती (देव, मनुष्य, असुर, तिर्यक, प्रेत, नरक) मा दुःख नै दुःख छन् । त्यसबाट मुक्तिका लागि गुरु योग ध्यान गर्नु आवश्यक छ, र सबै धर्मको सार तत्त्व हृदय मन्त्र “ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ” मन्त्र हो, जसको निरन्तर जप गर्नु पर्दछ ।”

गुरु पद्मसम्भवले डाकिनी येशे छोग्यललाई पनि उहाँले भन्नुभयो – “हे कुलपुत्री १ यो वज्रगुरु मन्त्र एक व्यक्तिको मात्र नभई, चार तन्त्र, नौ यान, चौरासी हजार धर्मस्कन्ध र सम्पूर्ण त्रिकाल बुद्धको सार हो । यस मन्त्रमा सम्पूर्ण गुरु, इष्टदेव, डाकिनी, धर्मपाल आदिको सार समाहित छ । तसर्थ, यो मन्त्र राम्रोसँग सुन्नुहोस्, कण्ठ गर्नुहोस्, पढ्नु होस्, लेख्नु होस् भविष्यमा प्राणीहरूलाई देखाउनु होस् ।’’

डाकिनी येशे छोग्यालले भविष्यका अनुयायीहरूको लागि वज्रगुरुको अनुशंसा (लाभ) के छ भनेर गुरु पद्मसम्भवलाई सोध्दा ‘‘भविष्यमा प्राणीहरूलाई केही समयको लागि अथवा पुरै जसरी भए पनि लाभ प्राप्त हुन्छ । उपदेश सिद्ध गर्न अनेक उपायहरू छन् जस्तै भू निधि, पानी निधि, गुफा निधि, आकाश निधि आदि धेरै रहेका छन् । नराम्रो युगमा मङ्गल कार्यहरू सम्पन्न हुन अति गाह्रो हुन्छ । त्यो प्राणीहरूको पुण्य नाश भएको चिन्ह हो । तर पनि त्यति बेला यो वज्र गुरुका सार महातीर्थ, गोन्पा, उच्च पहाड, ठुला नदीका किनार भूत, प्रेत उत्पन्न भएका ठाउँ गुरुका नियम अनुसार चल्ने साधक, शील युक्त संघ, श्रद्धावान् व्यक्ति आदिले महाचित्त उत्पात गरी सय, हजार, लाख, करोड, अरब, खरब जप गर्नले यसबाट असङ्ख्य लाभ प्राप्त भई शक्ति सम्पन्न, सबै दिशामा रोग व्याधि, युद्ध आदि नकारात्मक पक्षहरू सबै दूर भई सबैमा सुख शान्ति स्थापित हुनेछ ।

६। उपसंहार

नेपालमा गुरु पद्मसम्भवसँग सम्बन्धित असंख्य पवित्र तीर्थस्थल, गुफा र सम्पदा रहेका छन् । ती स्थलहरूको दर्शन गर्दा साक्षात् पद्मसम्भवको दर्शन भएको भावना गर्नुपर्दछ । पूजापाठ, मन्त्र जप गर्दा शुद्ध मनले गुरु पद्मसम्भवका कार्य लीला, गुण र शिक्षालाई मनन स्मरण गर्नुपर्दछ । वज्रगुरु मन्त्र जप वा अन्य पूजापाठ गर्दा, शुद्ध मन, अटुट श्रद्धा र एकाग्र चित्तसहित प्रत्येक अक्षरको अर्थलाई बुझेर उच्चारण गर्न सके, साधकको मन शुद्ध हुँदै विघ्न–बाधा हट्छन्, पुण्य र ज्ञानको सञ्चय बढ्छ र अन्ततः बुद्धत्वको मार्गमा अग्रसर हुन सकिन्छ भन्ने कुरा विभिन्न विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।

त्यसैले बुद्ध र बोधिसत्त्वहरूको मन्त्र जप, पूजापाठ गर्दा जहिले पनि आफ्नो मनलाई एकाग्र राख्नु पर्दछ । साथै उहाँहरूका ज्ञान, गुणहरूको स्मरण गर्दै हरेक शब्दलाई शुद्ध उच्चारण गरी प्रत्येक शब्दको अर्थ ध्यानमा राख्नु पर्दछ । त्यसो गर्न सके आफ्नो मन शुद्ध हुनुको साथै अन्तत्व गत्व पुण्य सम्भार र ज्ञान सम्भार सम्पन्न भई बुद्धत्व प्राप्त गर्न सकिन्छ ।

भवतु सर्व मंगलम् ।

सन्दर्भ ग्रन्थ सूची
१। गुरु पद्मसम्भवका जीवनी पद्म कथाङ
२। नेगी बिष्ट, रोशन लाल, अनुवादक (२००६) अंतराभाव श्रुतविमुक्ति, आर्य पब्लिशिंग हाउस, नई दिल्ली
३। लोजाङ ठिन्ले, तुङ्कार (२००२) तुङ्कार छिग्जो छेमो, टुङ् गोङ बोरिग पेटुन खाङ
४। गुरुङ, खेन्पो मेन्ला फुन्जोक, लामा (वि।सं। २०५४), नेपाल बौद्ध तीर्थ दर्पण, काथोक गुम्ब, डोल्पा
५। ञिङमा परम्पराका प्रार्थना पाठ सङ्ग्रह, (२०१४), नेपाल बौद्ध ञिङमा संघ, काठमाडौँ

Click the button for Donation