सोलुखुम्बुमा बुद्ध जयन्ती बृहत् कार्यक्रमको साथ मनाइँदै

19मे
कार्यक्रम, सम्पन्न कार्यक्रम थेक्छेन पेमा छोलिङ गुम्बा

सोलुखुम्बु । सोलुखुम्बुमा यस वर्ष २५६८ औँ बुद्ध जयन्ती बृहत् कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइँदै छ । थेग्छेन पेमा छोलिङ गुम्बा सोलुखुम्बुको आयोजनामा २५६८ औँ बुद्ध जयन्ती शान्तिको कामना गर्दै भव्यताका साथ मनाउन लागिएको हो ।

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्तीको अवसरमा ९ जेठमा धर्म र अभ्यासको दैनिक जीवनसँग सम्बन्ध र महत्त्व गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका सचिव ङिमा तेन्डुप शेर्पाले जानकारी दिनुभयो ।

वहाँका अनुसार जिल्ला समन्वय समिति सोलुखुम्बुको समीक्षालय हलमा आयोजना गरिने प्रवचन सहितको अन्तरक्रिया कार्यक्रममा सहभागीले जिज्ञासा सहितको प्रश्नहरू राख्न सकिनेछ ।

सहायक धर्माचार्य राजेश खड्का (करुणा वज्र) द्वारा प्रवचन प्रदान गरिने आयोजकले जनाएको छ ।

मानसिक तनाव व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला कारागारमा रहेका कैदिबन्दिहरुलाई जेठ ९ र १० गते बिहान ८ देखि ९ बजेसम्म प्रवचन दिइने कार्यक्रम तय भएको छ ।

यस्तै बुद्ध जयन्तीको दिन जेठ १० गते बिहान विभिन्न जाति र समुदायको झाँकी प्रदर्शन गर्दै र्यालि सहित सल्लेरी बजार परिक्रमा गरिने थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जि शेर्पाले जानकारी दिनुभयो ।

बुद्ध जयन्तीको अवसरमा बुद्धप्रति भावपूर्ण श्रद्धाको साथ शान्तिको कामना गर्दै बुद्धको ज्ञानलाई सीमित नगराई सबैसामु बुद्धको ज्ञानलाई फैलाउने उद्देश्यले यस वर्ष बृहत् कार्यक्रमको आयोजना गरिएको थेग्छेन पेमा छोलिङ गुम्बा व्यवस्थापन समितिका सचिव ङिमा तेन्डुप शेर्पाले जानकारी दिनुभयो ।

वहाँले बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गर्दै आ-आफ्नो घरमा दीपावली गरी बुद्ध जयन्ती मनाउनका लागि पनि आह्वान गर्नुभएको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरिएको छ ।

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्