बौद्ध चौतारी १६९
आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश भाग -१
आचार्य अतिश दिपंकर तिब्बतमा धेरै समय बिताएर अनेकन उपदेशहरु दिनु भयो। उहाँले गर्दानै तिब्बतिमा दोस्रो पल्ट धर्म प्रसारण हुनुका साथै बुद्धधर्म पुनर्जीवित भयो।
अन्त्यमा नारि भन्ने ठाउँमा २ बर्ष बिताएर बाँकी उपदेशहरु पनि दिईसकेपछी भारत फर्कने सोच बनाउँदै गर्दा नारिका राजकुमार “झान्छुब ओ”ले अझै थप उपदेश दिन अनुरोध गरेपछी यो अन्तिम उपदेश प्रदान गर्नु भएको हो।
***********************************
१) मित्र! बोधि प्राप्त नगरुन्जेलसम्म हामीलाई एक गुरुको आवश्यकता पर्दछ। तसर्थ एक आधिकारिक र योग्य कल्याणमित्रको भर पर्नु।
२) जबसम्म द्वय-अन्त मुक्त चित्त-अवस्थाको साक्षात्कार गरिन्न, तबसम्म तिमीले अध्ययन गर्नु पर्दछ। त्यसैले आफ्नो गुरुको उपदेशलाई ध्यानसंग सुन्नु।
व्याख्या: धेरैलाई बौद्धधर्म कसरी शुरु गर्ने र अध्यात्म/धर्ममा लाग्दा अध्ययन आवश्यक छ कि छैन भन्ने कुरामा आजकल अन्योल देखिन्छ।
बौद्ध धर्ममा दुई कुराहरु अत्यन्त महत्वपुर्ण मानिन्छ:
क) योग्य गुरुको सानिध्य
ख) आफुलेनै बोधी प्राप्त नगरुन्जेलसम्म पनि भगवान बुद्ध र अरु ठुला भारतिय आचार्यहरुको शास्त्रको अधययन।
योग्य गुरु को हो त? यसका धेरै मापदण्ड भएतापनी सबैभन्दा महत्वपुर्ण भनेको अटुट परंपरमा जोडिएर ध्यान गरेको र त्यस्तै परंपराको गुरु स्वयंले उपदेश दिन अधिकार दिएकोलाई मात्र योग्य गुरु मान्नु पर्दछ।
त्यस्तै भारत र नेपालमा धर्म/दर्शनको अध्ययन महत्वपूर्ण होइन, सबैभन्दा महत्वपुर्ण कुरा ध्यान गर्नु हो भन्ने एक प्रचलित मान्यता रहेको देखिन्छ।
बौद्धधर्मको दृष्टिकोणबाट भने यो कुरा पुर्ण गलत हो किनकी के मा ध्यान गर्ने, ध्यान के हो, आदि नबुझिकन ध्यान गरेर आफ्नो लक्ष्यमा पुगिन्न। जस्तो कुनै गन्तब्यमा जानू छ भने त्यो गन्तव्य कहाँ छ, कुन दिशामा छ, कस्तो खालको हो, आफुलाई मन पर्छ/पर्दैन, कसरी जाने, कुन बाटो ठिक हो आदि सबै नबुझी गैइएको खण्डमा गन्तव्य पक्कै पुगिन्न।
त्यसैले भगवान बुद्धले बुद्धधर्मको अभ्यास गर्नु भन्दा पुर्व सुनेर/पढेर श्रुतमयी प्रज्ञाको विकाश गर्नु पर्दछ र त्यसैमा आधारित भएर ध्यान साधना आदि गर्नु पर्दछ भन्ने निर्देशनकै अन्तर्गत आचार्य अतिश दिपंकरलेपनी द्वय-अन्त मुक्त चित्त-अवस्था अर्थात शुन्यताको ज्ञान नहुन्जेलसम्म अर्थात बोधिको झलक नपाउन्जेलसम्म अध्ययन गर्नु पर्ने कुरा उपदेशको दोस्रो बुँदामा राख्नु भएको छ। वास्तवमा भुमी प्राप्त बोधिसत्त्वहरुले पनि बुद्धहरुको शिक्षा संकलन गर्ने र धारण गर्ने गर्दछन् भनेर बौद्ध शास्त्रमा लेखिएको छ।
यसरी आफ्नो उपदेशको मुखमै यी दुई कुराहरुलाई प्राथमिकताका साथ आचार्य अतिश दिपंकरले राख्नु भएको छ।
भवतु सर्वमंगलम्