बाैद्धहरू मांसाहारी हुनु पर्ने हो कि शाकाहारी हुनुपर्ने भन्ने विषयमा बाैद्ध साहित्यहरूको समीक्षा गरी तयार गरेको यो लेख सबैका लागि पस्कदैछु । लेखको लिंक:
https://drive.google.com/file/d/1y5Hhd-a_YxHQJ-Sw-pNLcvDHtfA4p2om/view?usp=drive_link बाट डाउनलोड गर्न सकिन्छ वा माथि स्क्रोल गरी हेर्न सक्नुहुनेछ |
यो लेख कार्यपत्रको रूपमा प्रस्तुत गरिएको अडियो रेकर्ड पनि सुन्न सक्नु हुनेछ ।
यो अध्ययन पश्चात् मैले प्राप्त गरेको बुझाइ बुँदागत रूपमा निम्नानुसार छ ।
१. बुद्धोपदेशमा माछामासु सेवन गर्नु र प्राणिहिंसा गर्नुलाइ स्पष्टरूपमा छुट्याइ हेरिन्छ । माछामासु सेवन गर्नु आफैमा पाप होइन तर माछामासु सेवनका लागि प्राणिहिंसा गरिन्छ, गर्न लगाइन्छ वा त्यसको गुञ्जाइस रहन्छ भने त्यसरी मासु सेवन गर्नु अकुशल कर्ममा गनिन्छ । जिब्रोको स्वादको लागि नभइ विकल्प नै नभएको अवस्थामा प्राण धान्नको लागि मृत भेटिएको, प्रयत्न बिना प्राप्त (अर्थात् आफै मरेको वा कुनै ठूलो जन्तुले मारेर छोडेको) माछामासु खानुमा दोष हुँदैन भन्ने बाैद्ध दृष्टिकोण हो ।
२. महायान सूत्रहरूमा बाैद्धहरूले माछामासु सेवन गर्नु हुँदैन भन्ने कुरा स्पष्ट निर्देशन छ । तसर्थ सच्चा महायान अभ्यासीहरूले शाकाहारी नै रहनु आफ्नो आदर्श मान्दछ । थेरवाद साहित्यहरूमा यसरी स्पष्ट निषेध नगरेको, त्रिकोटी परिशुद्ध (आफूले नदेखेको, नसुनेको, शंका नभएको) माछामासु खानु हुन्छ भन्ने केहि प्रसंगहरूलाइ लिएर महायान साहित्य भएको बुद्धका ती उपदेशहरूलाइ थेरवादी भिक्षु तथा उपासकहरूले अतिवादि भनी संज्ञा दिने गरेको पाइन्छ ।
३. वज्रयान बुद्ध धर्ममा विशेष प्रयोजनको लागि पूजामा मद्य मांस चढाउने गरिन्छ । त्यसमा चढाइने मासु यत्न बिना प्राप्त भएको नै हुनु पर्दछ र मद्य थाेरै परिमाणमा भए पुग्छ । पटक्कै उपलब्ध नभएको अवस्थामा यी सामग्रीको अनिवार्यता पनि छैन । तर, यो कुराको गलत अर्थ लगाएर माछामासु खानु, जाँड रक्सी खानु वज्रयान बाैद्ध अभ्यासको नै पहिचानका रूपमा अभ्यास गरिनु बुद्धधर्मको मर्म विपरित छ । यो अभ्यास वज्रयानको अपव्याख्या हो ।
४. आफूलाइ बाैद्ध भनी चिनाउने व्यक्तिले बुद्धोपदेश अनुसार माछामासु सेवन नगर्नु नै सदाचार हो । यदि समाज परिस्थिति अनुसार यो कुरा सम्भव नभए न्यूनतम परिमाणमा सेवन गरी क्रमश अनुकूल वातावरण बनाइ पछि छोड्दै लानु नै उत्तम हुन्छ । व्यक्तिगत तहमा यसरी क्रमशः व्यवहार सुधार गर्दै लान उचित हुन्छ । संस्थागत तहमा बाैद्ध संस्थाहरूले बाैद्ध पूजाको नाममा प्रसादको रूपमा मासुको परिकार बनाइ भोज ख्वाउँदा मासु अर्डर गर्नु नै पर्ने हुन्छ । एकातिर पुण्यको काम भनी कार्यक्रम गर्दा गर्दै अर्को तिर प्राणातिपात जस्तो अकुशल मध्ये सबैभन्दा गह्राै कर्म गरी शील तोड्ने काम पनि भइरहेको हुन्छ । तसर्थ, बाैद्ध संघ संस्थाहरूले यो कुरामा विचार गर्नै पर्छ ।