बौद्ध चौतारी २१०
आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – ११
आचार्य भन्नुहुन्छ:
१३) असल गुण भएकाहरु प्रती ईर्ष्या गर्नुभन्दा उनिहरुलाई आदर गर्दै उनिहरुको राम्रो गुणलाई अपनाउनु पर्दछ।
१४) अरुको दोषको विवेचना गर्नु भन्दा आफ्नै दोषलाई खराब रगतलाई निकालेर फालेको जस्तो फाल्नु पर्दछ। (यहाँ आचार्यले चिकित्सा विज्ञानको भाषा बोल्नु भएको छ)
व्याख्या: सबै खाले बौद्ध धर्महरुमा अनुमोदनाको महत्व छ। अनुमोदना भनेको अरुको कुशलमुल र राम्रा पक्षको मनैदेखी स्विकार गरेर हर्षित हुनु हो। यसो गर्दा आफ्नो अहंकारलाई त वशमा राख्नु पर्दछ नै, यस्ले पुण्यको पनि आर्जन हुन्छ भनेर भनिएको छ।
यहाँ पहिलो बुँदामा आचार्य अनुमोदनाको लागि उपदेश दिनु हुन्छ। उहाँ भन्नुहुन्छ कि कसैको राम्रो गुण देख्दा ईर्ष्या गर्नुको सट्टा त्यसलाई स्विकार गर्दै आदर गर्नु पर्दछ किनकी राम्रा गुण उत्पन्न गर्न अथक परिश्रम र लगनशिलता चाहिन्छ। यस्तो दु:ख गरेर आर्जन गरिएको गुणलाई हामीले सम्मान गर्नु पर्दछ र साथै त्यस्तै गुण आफुमा पनि उत्पादन गर्ने संकल्प लिनु पर्दछ। जस्तो कोहो दानविर छ, शिलवान छ आदि भने आफू पनि त्यस्तै गर्ने र बन्ने मनमा ईच्छा राख्नु पर्दछ।
दोस्रो बुँदाको हकमा भने आचार्य गंभिर कुरालाई सरल रुपमा राख्नु हुन्छ। उहाँ भन्नू हुन्छ कि अरुको दोषमा रुमल्लिनु हुन्न।
वास्तवमा मनको स्वभावै यस्तो हुन्छ कि शुद्ध कुरामा मन राख्दै गएमा चित्त शुद्धी हुन्छ भने नराम्रा कुरामा मन राक्दै गएमा मनमा क्लेश र अविद्या बढ्दै जान्छ। त्यसैले अरुको दोषलाई विवेचना गर्दा आफ्नै मन क्लेशित हुने र आफ्ना राम्रा गुणको वृद्धि नहुने हुन्छ।
यसको अर्को पक्ष पनि छ। आधुनिक मनोविज्ञानका अनुसार अरुमा देखिने दोष वास्तवमा सधैंजसो आफ्नै मनको प्रक्षेपण हुन्छ। आफुमा सुषुप्त अवस्थामा रहेका दोषहरु हामी प्राय अरुमा देख्ने गर्दछौं। त्यसैले सबै आफ्नो चित्तै हो मानेर हामीले आफ्नो दोषलाई खराब रगत फालेको जस्तै फाल्न कोशिस गर्नु पर्दछ। यसो चिनियाँ चिकित्सा विज्ञानमा गरिन्छ; कुनै अंगमा कुनै समस्या छ भने त्यहांको मुख्य नशालाई काटेर वा प्वाल पारेर त्यहाँको अशुद्ध रगतलाई फाल्न कोसिस गरिन्छ ताकी फेरि त्यहाँ ताजा रगत बगेर अंग स्वस्थ होस्।
त्यस्तै अरुको दोषलाई स्विकार गर्न करुणा मनमा अवश्य हुनु पर्छ। संसारमा आफू लगायत कोहिपनी दोष रहित हुन्नन् । त्यसैले हामीले सहानुभूतिपुर्वक आफू लगायत सबैलाई करुणाले समेट्नु पर्दछ। आफू र अरुलाई फरक नगरी हेर्न सक्नु एक अभ्यासिको ठूलो खुबी हो। तर त्यतिले पक्कै पुग्दैन। तसर्थ अर्को भागमा अझ गहिरा उपदेश आचार्य दिनुहुन्छ। क्रमश…
भवतु सर्वमंगलम्



