बौद्ध चौतारी १९४
आचार्य अतिशका अति गंभिर उपदेश, भाग -८
आचार्य लेख्नुहुन्छ:-
१३) प्रशंसा र वाहवाहिका शब्दहरु झुक्याउने/छल्ने खालका हुन्छन् – तिन्लाई सिंगान फालेको जस्तो फालिदिनु।
१४) यद्यपि अहिले, यो समयमा धेरै मात्रामा सुख-सयल, खुसी र मित्रता पाएतापनी ति सबै क्षणभंगुर, परिवर्तनशिल छन् – तिबाट आफ्नो मुख फर्काउनुहोस्।
व्याख्या: एकपल्ट फेरि आचार्यले यहाँ महायानका चर्या र आचरणमा जोड दिनु भएको छ।
धेरैलाई यो भ्रम छ कि महायानमा गंभिर, मनलाई परिवर्तन गर्ने अभ्यासहरु हुन्नन् या महायान गृहस्थका लागि मात्र हो जहाँ सुख-सयल आदि त्यागिन्न आदि। तर कुनैपनी महायानका सुत्र अर्थात बुद्धवचन वा शास्त्र अर्थात पछिका परंपराका आचार्यहरुले लेखेका वचनहरु हेरियो भने महायानमा बारंबार संसार छोड्नलाई आह्वान गरिएको, त्यागमा, आचरण, सदाचार, शिलमा अत्याधिक जोड दिईएको पाइन्छ।
यहाँपनी आचार्यले एकातिर तिनै कुराहरुलाई जोड दिनु भएको छ भने अर्कोतिर फेरिपनी अहंकार र आत्मग्राह हटाउनका लागि ८ लौकिक धर्महरु मध्य केहिलाई यहाँ उल्लेख गर्दै ती सबै प्रती आशक्त नहुन सल्लाह दिनु भएको छ। आखिरमा बौद्ध धर्मको अन्तिम अभ्यास र लक्ष्य भनेकै आत्मग्राहको नाश गर्नु हो।
प्रशंसा, वाहवाहीले एकछिन त मजा दिन्छनै तर त्यो वास्तविकता होइन, काल्पनिक हो। अतिरंजित र अनावश्यक प्रशंसाले मानिसले आफ्नो भुइँ बिर्सन्छ, यथार्थ भुल्दछ र बेलुन फुकेको जस्तो फुक्न पुग्दछ। बेलुन कतिदिन फुक्न सक्दछ? एकदिन त यो सुकिहाल्छ, हावा निस्किहाल्दछ। त्यसैले यसबाट बच्न आचार्य प्रशंसा आदिलाई सिंगान फालेको जस्तो फालिदिन सुझाउ दिनुहुन्छ।
त्यस्तै सुखसयल, राम्रा साथिभाई, खुसी आदि यो जन्ममा उपलब्ध हुनु अवश्य पनि राम्रो कुरा हो। यसको अर्थ पुराना जन्महरुमा कुशलमुलको संकलन राम्ररी गरिएको रहेछ भनेर बुझिन्छ।
तर सबै संस्कृत धर्महरु जस्तै ती पनि अनित्य छन्। अनि यो पनि संभव छ कि ती सबै एकैचोटि नराम्रो कर्मको बाधाले नाश होउन्। यो नहोला भन्ने गारंटी कसैले दिन सक्दैन। यो परिवर्तनशिल संसारमा कुनै कुरा स्थिर छैन।
तसर्थ तिन्को यस्तो अनित्य प्रकृति बुझेर तिनिहरुमा आशक्त नभैकन आफ्नो धर्मको अभ्यास वा मनको तालिममा व्यस्त हुनु उत्तम हो।
आखिर सुख बाहिरी पैसाले होइन मनको अवस्थाले दिने हो। तालिम दिएको मनले मात्र सुख हुन्छ। नत्र अरबौंपतिहरु पनि चिन्ताले सताईएका, डिप्रेसनमा गएका र आत्महत्या गरेका उदाहरणहरु धेरै छन्।
भवतु सर्वमंगलम्