बौद्ध चौतारी १७०
आचार्य अतिश दिपंकरको अति गंभिर उपदेश – भाग २
३) [बौद्ध]धर्मलाई बुझेर मात्र बोधि लाभ गर्न सकिन्न। त्यसैले धर्मको [श्रुतमयी] ज्ञान मात्रले संतुष्ट नभई [चिन्ता र भावनामयी] अभ्यास गर्नु पर्दछ।
४) शिल/सदाचारलाई सराहना गर्नेहरुको माझ रहन पर्दछ भने आफ्नो मनलाई अशान्त बनाउने ठाउँ भन्दा टाढै बस्नु पर्दछ।
व्याख्या: धेरैलाई महायान/वज्रयानमा पुजापाठ मात्र गरिन्छ, शिल/सदाचारका कुरा गरिन्न भन्ने लागेको देखिन्छ।
तर महायान/वज्रयानमा असाधारण समथ/विपश्यना अभ्यासहरु क्रमिक रुपमा बर्षौ या जीवन पर्यन्त गरिन्छ। शिल/सधाचार त यसको मुटुनै हो भने पुजापाठ आदि सबै सहायक उपायहरुको रुपमा अभ्यास गरिन्छ। महायान/वज्रयानमा दुई संभारहरु — पुण्य र ज्ञान — पूरा गर्नुपर्ने भएकोले बाहिरी देखिने रुपमा गरिने कतिपय सतही पक्षलाईनै महायान/वज्रयानका मुख्य अभ्यास होलान् भन्ने अनुमान लगाएर यस्ता धारणाहरु बनाएको पाइन्छ। त्यस्तै कतिपयलाई महायानको विस्तृत शास्त्र लेखन र खण्डन-मण्डनको शैली देख्दा यहाँ खाली वादविवाद मात्र हुने र गंभिर धर्मको अभ्यास नहुने आशंका भएको हुनसक्दछ जुन पुर्ण गलत कुरा हो। त्यसको ठिक विपरित महायानमा भयंकर रुपमा नैष्क्रम्यको अपेक्षा (संसार छोड्ने संकल्प) गरिएको छ भने अभ्यासको हकमा कंदरा, गुफा वा गुफावासमानै रहेर अभ्यास गर्न जोडदार उपदेश दिइएको हुन्छ। यो श्रद्धामा मात्र टिकेको हुन्न बरु महायान/वज्रयानका जतिपनी देखिने वा नदेखिने अभ्यासहरु विपश्यना आदिको माध्यमबाट प्रज्ञाको विकाश गर्दै अनात्मा/शुन्यताको साक्षात्कारको लागि हुन्छ।
त्यस्तै एक महायानी/वज्रयानिले श्रावकयान अन्तर्गतका ५ शिल देखि भिक्षु/भिशुणिका सबै शिलहरु लिने देखि लिएर महायानका बोधिचित्त जस्ता गंभिर सवंरहरु धारण गर्नुपर्ने हुन्छ। शिल र समाधी विन कसरी बौद्धधर्मको अभ्यास सोच्न पनि सकिन्छ?
तसर्थ उपदेशको शुरुवातमै यी दुबैलाई (अर्थात शिल/संवर/सदाचार र अभ्यासलाई) आचार्यले जोड दिएर राख्नु भएको देखिन्छ।
भवतु सर्वमंगलम्