बौद्ध चौतारी १७३
आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश ४
५) सांसारिक कृयाकलाप कहिल्यै खतम हुन्नन्, तसर्थ तिनिहरु प्रती अनाशक्त भएर आराम गर्नु पर्दछ।
६) रातोदिन आफुले आर्जन गरेको पुण्य परिणामना गर्नु पर्दछ र आफ्नो मनको निरिक्षण गरिरहन पर्दछ।
व्याख्या: हामीलाई संसारमा घुमिरहने बनाउनेनै साँसारिक कृयाकलापहरु हुन् जसलाई अष्टलौकिक धर्म भनिन्छ। लाभ-हानी, सुख-दु:ख, निन्दा-प्रशंसा र यश-अपयश आदिनै ती धर्महरु हुन्। यिन्ले क्लेश, अविद्या, आत्मग्राहनै बढाईरहन्छन्। साथसाथै साँसारिक काम र कृयाकलापहरुको न शुरु छ न अन्त्य, त्यो निरन्तर चलिरहन्छ। तसर्थ ती व्यर्थका कृयाकलापहरुलाई एकातिर पंछाएर शान्त भएर आराम गर्नु पर्दछ। तिनलाई नगरेर खासै पहाड खस्दैन। समाजले हामीलाई ती कृयाकलाप नगरी हाम्रो अस्तित्व र परिचयनै हुन्न भन्ने जस्तो भान गराएको भएतापनी ज्ञानिले तिन्को स्वभाव बुझेर तिन्लाई छोडिदिनु पर्दछ।
आचार्यले अर्को महत्वपूर्ण अभ्यासको बारेमा उल्लेख गर्नुभएको छ, कि हामीले आफुले आर्जन गरेको पुण्य सत्त्वहितार्थ सधैं परिणामना गर्नु पर्दछ। परिणामनाका दुई फाईदाहरु छन्: एक आफुले गरेको पुण्य प्रती आशक्ती नहुने/आत्मग्राह घट्ने र ती पुण्य कहिल्यै क्षय नहुने हुन्छ। एक बोधिसत्त्वको यो एक महत्वपूर्ण अभ्यास हो।
अनि आचार्य आफ्नो मनलाई सधैं निरिक्षण गर्नु पर्दछ भनेर पनि थप्नुहुन्छ। बौद्धधर्मको ध्यान-भावनाको त यो मुटुनै हो। हाम्रो मनमा उब्जेका विचार र क्लेश प्रती हामी जति सजक हुन्छौं, त्यतिनै हाम्रो मनलाई क्लेशमा नबग्न, अविद्याले नढाकी राख्न हामी सक्दछौ र कर्मको बन्धनलाई तोड्न सक्दछौ।
हामीले देख्यौ कि आचार्य अतिशको मुख्य जोड महायानको सुरुवातको अवस्थामानै शिल, सदाचार र मनको तालिममा छ।
<<भवतु सर्वमंगलम्>>