आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १३

बौद्ध चौतारी २३१

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १३

आचार्य भन्नुहुन्छ:

१७) हँसिलो अनुहार लगाएर र मनमा मायालु भावना राख्दै सबैजनासंग इमान्दारिपुर्वक र शान्त भएर संवाद गर्नु पर्दछ।

१८) जब सभिन्न प्रलाप (निरर्थकका गन्थन) गरिन्छ, भ्रम बढ्दछ। यस्तो संवादलाई आफ्नो नियन्त्रणमा राखेर कम बोल्ने बानी गर्नुपर्दछ।

व्याख्या: साधारणतया बुद्ध धर्मको र खासगरि महायानको सुन्दरता यो हो कि यसले मनलाई तालिम गर्ने त सिकाउँदछनै, लोकव्यवहारमा कसरी अरु मानिसहरुसंग व्यवहार गर्नु पर्दछ भन्ने व्यवहारिक शिक्षा पनि प्रदान गर्दछ।

जस्तो पहिलो बुँदामा आचार्य एक अभ्यासिको भित्री र बाहिरि दुबै अवस्था कस्तो हुनु पर्दछ भनेर बताउँदै हुनुहुन्छ।

मनलाई वशमा राखेर सकेसम्म मनमा क्लेश आउन नदिने र कुशल चित्तनै कायम राख्न आचार्य निर्देशन दिनु हुन्छ। यो भित्री अवस्था भयो भने अरुसंग व्यवहार गर्दा मनमा कालो जम्मा गर्ने तर मुखले ठिक्क पार्ने गर्न हुन्न भन्ने उदेश्यले आचार्य इमान्दारिताको प्रसङ्ग ल्याउनु हुन्छ। ईमान्दारिता एक बौद्ध, त्यसमाथी एक महायानिको लागि मेरुडण्डनै हो। यो विना मार्ग र अभ्यासको चिन्तननै गर्न सकिन्न।

त्यस्तै दोस्रो बुँदामा शिल पालन नगर्दा के हुन्छ भनेर पनि आचार्यले सचेत गराउनु भएको छ। हामी प्राय अनेकन सांसारिक कुरामा अल्झिएर र मनलाई वशमा नराखी प्रमादले गर्दा काय, वाक र चित्तले के गरिरहेको छौं त्यो जाँच्न असमर्थ हुन्छौ। यसरी भुसुक्क भुलेर अनेकन अनर्गल प्रलाप गर्दा क्लेश बढ्दछ, भ्रम पनि पैदा हुन्छ भने कहिलेकाही नबोल्नुपर्ने कुरा पतर-पतर बोल्दा संबन्धहरु पनि बिग्रन्छ।

तसर्थ दोस्रो बुँदामा वाकका चार अकुशल मध्ये एक सभिन्न प्रलापमा नलाग्ने आचार्य निर्देशन दिनु हुन्छ।

भवतु सर्वमंगलम्

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्