बुद्ध चौतारी १७४
अतिश दिपंकरका अति गंभिर उपदेश भाग ५
आचार्यले शुरु देखिनै अभ्यासमानै जोड दिएको अघिल्ला भागहरुमा हामीले देखेकै छौ। र फेरिपनी अभ्यासमानै जोड दिदै आचार्य भन्नुहुन्छ:
६) उपदेशहरु उपलब्ध छन् भन्दैमा आफ्नै हिसाबले अभ्यास गरेर के फाईदा? तसर्थ, आफ्नो परंपराका गुरुले दिएको मार्गनिर्देशन अनुसार अभ्यास गर्नु पर्दछ।
७) यदि मन लगाएर, दिलोज्यानले अभ्यास गर्ने हो भने त्यसको प्रतिफल पनि छिट्टै देखा पर्दछ।
व्याख्या: बौद्ध धर्मको यो विशेषतानै हो कि गुरु, अटुट परंपरा आदिलाई अतिनै जोड दिईन्छ। किनकि यी विना भगवान बुद्धको असली शिक्षासंग जोडिने अरु कुनै आधार हुन्न। विशेषगरी यो कुरा आजकल अध्यात्म/धर्म/बौद्धधर्ममा देखिएको विचलन र विसंगतिको लागि महत्वपूर्ण छ किनकी बजारमा चलेका धेरै परंपराहरु शुद्ध छैनन्, जसले गर्दा उपदेश ठिक ढंगले पाईन्न र सफलता पनि मिल्दैन। किताब आदि पढेर आफै हिसाबले ध्यान गर्ने परंपरा र संस्कृती बौद्ध धर्ममा छैन। न नै २-४ ध्यान शिविर गएकालाई बौद्ध धर्म सिकाउने अधिकारी मानिन्छ। स्वयं घोषित गुरु त बौद्ध धर्मका शत्रुनै हुने गर्दछन्।
तर अटुट परंपराको गुरु पनि उपस्थित हुनुहुन्छ र हामीले पनि दिएको उपदेशलाई अक्षरश: पालना गरेर दिलोज्यान लगाएर अभ्यास गरेका छौं भने त्यसको प्रतिफल छिट्टो र तुरुन्तै मिल्न सुरु भैहाल्छ। यसलाई बौद्धधर्ममा “उपदेश प्रातिहार्य” भनिन्छ अर्थात उपदेशको चमत्कार।
यहाँ चर्चा गरिएको प्रतिफल के हो त बौद्धधर्म अनुसार? आजभोली अध्यात्म किन गर्ने र त्यसले हामीलाई के प्रतिफल दिनु पर्दछ भन्ने कुरामा अन्योल भएको बेलामा यो प्रश्नको उत्तर महत्वपूर्ण छ। बौद्ध धर्ममा प्रतिफललाई मापन गर्ने ईकाइहरु यी हुन्:
१) क्लेश कम हुन थाल्नु, रिस राग पहिले भन्दा कम हुनु
२) करुणा, मैत्री बढ्न थाल्नु
३) तर्क/युक्ती लाउने क्षमताको वृद्धि हुनु
४) अहंकार, आत्मग्राह, “म, म, म” भन्ने बानी कम हुनु
५) मन प्राय शान्त र स्थिर रहनु
६) जीवनलाई गंभिरतापुर्वक लिन छोड्नु
७) पहिले भन्दा हास्ने, खेल्ने, रमाउने कृयाकलाप बढ्नु
८) सबैजनासंग सहज रुपमा प्रस्तुत हुन सक्नु
९) एकान्तवास बढ्नु र आफैंसंग रम्न सक्ने क्षमताको वृद्धि हुनु
१०) आत्मा/ईश्वर छैन रहेछ, यो भ्रम मात्र रहेछ, मेरो आफ्नो मननै मेरो मित्र वा शत्रु रहेछ भनेर बुझ्नु आदि।
भवतु सर्वमंगलम्