आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १२

बौद्ध चौतारी २१३

आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग – १२

अघिल्लो भागमा जस्तै यहाँ पनि आचार्य अतिश भन्नुहुन्छ:

१५) आफ्नो गुणको बारेमा सोच्नु भन्दा (घमण्ड गर्नु भन्दा) अरुको गुणको बारेमा सोच्नु पर्दछ र उनिहरुको गुण संझेर आदर गर्दै आफुलाई उनिहरुको सेवक जस्तो संझनु पर्दछ।

१६) सबै प्राणिहरुलाई आफ्नो आमाबुबा जस्तो संझिन पर्दछ र छोराछोरिले आमाबुबालाई माया गरे सरि माया गर्नु पर्दछ।

व्याख्या: ऐतिहासिक रुपमा हेर्दा तिब्बतमा आचार्य अतिश दिपंकरलेनै एक किसिमको मनलाई तालिम दिने शिक्षाहरु दिनु भयो जसलाई “लोजोङ्ग” भनिन्छ। यो कदम्पा परंपरा हुँदै बिस्तारै तिब्बतका सबै अरु परंपरामामा अभ्यास गर्न थालियो।

त्यही मनलाई तालिम दिने अभ्यास अन्तर्गत आचार्यले यहाँ दुई महत्वपुर्ण कुरा भन्नुभएको छ।

हामी विभिन्न प्रकारका गुणहरुलाई विकाश गर्ने त परै जाओस् अरुको गुणहरुलाई पनि सराहना गर्न सक्दैनौ। हाम्रो मनमा ईर्ष्या आदि आईहाल्छ। त्यो भनेकै आत्मग्राह हो, अर्थात आफु बाहेक अरु कसैलाई महत्व नदिने र आफ्नो अभिमानलाई कम नगर्ने प्रवृत्ती!

त्यसैले पहिलो बुँदामा आचार्य त्यही प्रवृत्तिहरुलाई काट्न जोड दिदै आफुलाई गुणि व्यक्तिहरुको सेवक जस्तै संझन उपदेश दिनुहुन्छ।

दोस्रो बुँदामा महायानको महत्वपुर्ण अभ्यासलाई उहाँले औंल्याउनु भएको छ। मातृगुण-अनुस्मृति अर्थात आफ्नो यो जन्मको आमा लगायत सबै प्राणिहरुलाई आमाबुबा समान सम्झेर उनिहरुले आफुलाई गरेको उपकार र माया संझदै मनमा बोधिचित्तको भाव जन्माउन उहाँले उपदेश गर्नु भएको देखिन्छ।

यहिनै महायानको सार हो: बुद्धो भवेयं जगतो हिताय अर्थात ती जगतका आमाहरुलाई उद्धार गर्न म बुद्ध हुँ भन्ने संकल्प।

भवतु सर्वमंगलम्

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्