बौद्ध चौतारी १९२
आचार्य अतिशका अति गंभिर उपदेश: भाग -७
आचार्य लेख्नुहुन्छ:
१०) यो अधम मन जो व्यर्थको, अभिमानी, घमण्डी र अहंकारी छ त्यसलाई शान्त बनाउनु र तालिम गर्नु।
११) जीवनमा व्यस्त मानिसहरुले जसलाई “पुण्य” भन्दछन् त्यो धर्म गर्नको लागि बाधक हो। त्यसलाई त्याग्नु।
१२) लाभ र प्रतिष्ठा भनेको मारको पासो हो, त्यसलाई त्याग्नु।
व्याख्या: यी हरफहरुमा आचार्य अतिशले मनको तालिम, स्मृतिसंप्रजन्य (होश) सहितको जीवन र साधनालाई जोड दिनु भएको देखिन्छ।
प्राय मानिसहरुले महायानमा पुजा-आजा मात्रै हुने आदि भन्ने विचार राखेको पाइन्छ जुन सत्य होइन। महायान मनकै तालिम गर्ने उत्कृष्ट विधि भएको यान हो।
बौद्ध धर्मको मुख्य उदेश्यनै मनको तालिम भएको र तालिम दिएको मनले मात्र सुख प्रदान गर्ने भएकोले उहाँले यहाँपनी पहिलो श्लोकमा मनकै तालिमको कुरा राख्नु भएको छ।
अब मनको तालिम भनेको के? यो भनेको मुख्यतया अहंकार र आत्मग्राहलाईनै कम गर्दै त्यसलाई पुर्ण रुपमा खतम गर्नु हो। तसर्थ उहाँ मनका अभिमानी, गमण्डी पक्षलाई तह लगाउन निर्देशन दिनुहुन्छ।
तर बौद्ध धर्मको महत्वपुर्ण साधना भनेको पुण्य संचय गर्नु पनि हो। सामान्यतया पहिलो पाँच पारमिताहरुको (दान, शिल,क्षान्ती, विर्य, ध्यान) अभ्यासनै पुण्य संचयका उपायहरु हुन जसले अन्ततोगत्वा प्रज्ञा जगाउन मद्दत गर्दछ।
तर संसारमा पुण्य/पापका धेरै अवधारणाहरु छन् जसले पापनै वा अकुशलै हुन जान्छ। यस्तो पाप वा अकुशल कर्म वास्तकमा धर्म अभ्यासको बाधक हो। जस्तो कतिपय मानिसमा बलि दिनु पुण्यको काम हो भन्ने मान्यता हुन्छ। त्यो बौद्ध दृष्टिकोणबाट भने पुर्ण गलत विचारहरु हुन् जसले हामीलाई नर्क आदिमा पुर्याउँदछ। प्राणी हत्या कुनै पनि संदर्भमा जघन्य पापनै हो र अकुशल कर्म हो।
अनि त्यस्तै गरेर लाभ-प्रतिष्ठाहरु भनेका अष्ट लौकिक धर्महरुमा पर्दछन् जुन अहंकार, अकुशल बढाउने खालका हुन्छन् जसले हामीलाई संसारमै घुमाउँदछ। संसार भन्नुनै यहि आठवटा लौकिक धर्महरु हुन् जसलाई अष्ट लौकिक धर्म भनिन्छ। यसलाई त्याग्न आचार्य अतिशले यहाँ विशेष जोड दिएर भन्नुभएको छ।
अर्थात, साराँशमा त्याग, मनको तालिम, कुशलकर्ममा जोडनै यहाँ भनेको पाइन्छ।
भवतु सर्वमंगलम्