बौद्ध चौतारी २६१
आचार्य अतिश दिपंकरका अति गंभिर उपदेश: भाग १५
आचार्य भन्नुहुन्छ:
२२) अब सुन! एक असल व्यक्तिको लागि लज्जित हुनु मृत्यु जस्तै हो। तसर्थ इमान्दार हुनु र भ्रष्ट/दुष्चरित्रको नहुनु।
व्याख्या:
अहिलेसम्म हामीले देख्यौं कि आचार्यले बारंबार शिल, सदाचार आदिमानै धेरै पटक जोड दिनु भएको छ।
नेपाल, भारत र अन्यत्र थेरावादको प्रभावमा भएका व्यक्तिहरुमा एक किसिमको भ्रम छ कि महायानमा खाली पुजा-आजा हुन्छ, भक्ती हुन्छ तर बुद्धका शिल, समाधी र प्रज्ञा हुन्नन्। यो भन्दा ठूलो भ्रम र असत्य अरु कुनै हुनै सक्दैन।
यहाँपनी आचार्य दुई महत्वपुर्ण अभिधर्मका अवधारणा मध्ये एकलाई इन्कित गर्दै भन्नुहुन्छ कि एक असल व्यक्तिको लागि लज्जित हुनु मृत्यु जस्तै हो। लज्जा/शर्मको एक असल व्यक्ती, र खासगरी एक साधकको लागि गहनानै हो।
तसर्थ भगवान बुद्धले हृी र अपत्राप्य यी दुबै आर्यका गहना हुन् भनेर बारंबार भन्नुभएको छ। यि दुबै कुशलभुमिक चैतसिकमा पर्दछन्। चैतसिक भनेको मनकै भाग हो।
हृी भनेको अकुशल गर्न हुन्न भनेर आफ्नै विवेकले देख्ने र अकुशल/पाप कर्म गर्न लजाउने आदि हो भने अपत्राप्य भनेको अकुशल गर्दा अरुले हेय दृष्टिले हेर्ने भएकोले त्यस्तो अकुशल अरुको वा समाजको उपस्थितिमा नगर्ने हो।
यी दुबैलाई कायम राख्न राम्रो स्मृती विकशित भएको हुनु पर्दछ। खासगरी धर्मानुस्मृती भएन भने मनमा के कस्ता कुशल वा अकुशल चलिरहेका छन् भन्ने कुराको होश हुन्न।
एक असल र कुशल साधकको लागि यी दुबै चैतसिकहरु महत्त्वपूर्ण छन्। तिन्को अनुपस्थितिले एक साधक जिउँदै मरेको लाश भन्दा फरक होइन भनेर आचार्यले यो पक्षलाई अलि जोड दिएर उठाउनु भएको छ।
आज विश्व समाज यी दुई कुराको अभावले बिस्तारै विग्रहको स्थितिमा छ र पतनको संघारमा छ। न आफ्नो अकुशलको लज्जाबोध छ भने न समाजमा के कुशल, के अकुशल, के ग्राह्य, के अग्राह्य, के श्लिल के अश्लिक, के गर्न हुने के गर्न नहुने भन्ने कुरामा स्पष्टता देखिन्छ। समाज दिशाहिन भएको प्रतीत हुन्छ। समाजमा भ्रष्टाचार, अन्याय, अत्याचार, अनाचार, उत्शृङ्खलता, दुराचार, हिंसा बढेको छ भने समाजका आदर्श, मूल्य र मान्यता बिस्तारै खतम हुँदै गईरहेको देखिन्छ किनकी हामीलाई के गर्ने र के नगर्ने भन्ने कुरामा होस र बोध हुन छोडेको छ।
एक सारथिले जसरी एक रथमा जोडिएका घोडाहरुलाई नियन्त्रण र संचालन गर्दछ त्यसैगरि यी दुई हृी र अपत्राप्यले साधकलाई मात्र नभै संम्पुर्ण समाजलाई सहि दिशामा डोर्याउन सघाउँदछ।
तसर्थ अचार्यले यो महत्वपूर्ण अभिधर्मका कुशल शिलसंग संबन्धित अवधारनाको उपदेश फेरिपनी यहाँ राख्दै हुनुहुन्छ।